वेस्वादको ‘दाल भात तरकारी’ (समिक्षा)

  KTMreports  175 पटक हेरिएको

तथ्यांकले भन्छ, दिनहुँ १५ सय नेपाली युवा श्रम भिषा च्यापेर त्रिभूवन विमानस्थलबाट विदेशिन्छन् । यही लस्करमा हुन्छन्, स्टुडेन्ट भिषा र भिजिट भिषा बोक्नेहरु पनि ।राष्ट्रिय अर्थतन्त्रले भन्छ, विदेशीएका नेपालीबाट बाषिर्क अर्बौं रुपैयाँ रेमिट्यान्स प्राप्त हुन्छ । यसले मुलुकको अर्थतन्त्रमा ठोस योगदान पुर्‍याइरहेको छ ।यी दुई तथ्यांकको गठजोठ के हो भने, विदेशको श्रम बजारले हाम्रो रहर, बाध्यता दुबै समाहित गरेको छ । कोही रहरले तानिएर त, कोही बाध्यताले धकेलिएर समुन्द्रपारका मुलुक पुगेका छन् । यसरी विदेशिनेमध्ये एकथरी छन्, भिजिट भिषाधारी । निश्चित अवधीका लागि ‘भ्रमण’मा गएका कति युवा र्फकदैनन् । त्यसैले त ‘भिजिट भिषा’ काखीमा च्यापेर विदेश जानेहरु सधै शंसयको घेरामा हुन्छन् ।

युरोप-अमेरिकाको वैभवले लोभ्याएर पनि थुप्रै युवाले घरको संघारसँग दुरी बढाउँछन् । पढ्ने मेलोमेसोमा होस् वा घुम्ने वहानामा, उनीहरु घर-आँगन त्याग्छन् ।

विदेशप्रतिको यो आशक्ति र आकर्षणको एउटा पाटो भयानक कुरुप छ । यसले पारिवारिक विखण्डनदेखि घरेलु श्रमशक्तिमा ह्रास पुर्‍याइरहेको छ । गाउँघरमा लास बोक्ने मलामी छैनन् । बाँझो फुटाउने पाखुरा छैनन् । सिपालु र दक्ष जनशक्ति छैनन् । रेमिट्यान्सको घनचक्करले राज्यलाई रुखो बनाउँदैछ ।

विदेशप्रतिको आकर्षण र त्यसले पुर्‍याइरहेको सामाजिक/मानविय क्षयिकरणको यही मियोमा मह संचारले निर्माण गरेको चलचित्र हो, दाल भात तरकारी ।

नेपालको हास्य कलाकारितामा अग्रपक्तिका धावक मानिन्छन्, महलाई । यसर्थ उनीहरुले निर्माण गरेको चलचित्रप्रति अपेक्षा हुनु स्वभाविक हो । चलचित्रलाई मह क्लबकै किरण केसीले निर्माण गरेका हुन् भने उनका छोरो सुदन निर्देशक ।

हास्य जनराको यो चलचित्रले नेपालीको विदेश मोह र त्यसको सामाजिक प्रभावलाई कति फुलबुट्टा भरेर पस्किएको छ त ?

यस्तो छ कथा ?

रामहरि (हरिवंश आचार्य) पत्नी उर्मिला (निरुता सिंह)को उकसाहटमा लागेर अमेरिका जाने र उतै सुख-भोग गर्ने लालसा प्रकट भएको छ । उनीहरुको यो लालसामा छोरा, छोराकी गर्लफ्रेन्ड र ससुरा समेतले र्‍याल चुहाएका छन् । सबै एकमत छन् । यहाँसम्म कुनै द्वन्द्व छैन ।

डिभी भरेर विदेश जाने वैधानिक बाटो बटारिएपछि उनीहरु कथित धर्मगुरुको शरणमा पुग्छन् । हुँदाछँदाको घर महंगो ब्याजमा लोनमा राख्छन् र एक करोड रुपैयाँ धर्मगुरुलाई बुझाउँछन् । धर्मगुरुले भनेका छन्, ‘भिजिट भिषामा अमेरिका पुर्‍याएरै छाड्छु ।’

तर, अर्को दिन ति धर्मगुरु पैसा र पासपोर्ट कुम्ल्याएर अलाप हुन्छन् । त्यसपछि के हुन्छ ? २ घण्टा लामो चलचित्रले किस्ताबन्दीमा रहस्य खोतल्छ ।

के छ राम्रो ?

पारिवारिक आकंक्षा । विदेश मोह । डिभीको घनचक्कर । दलालको फन्दा । राजनीतिक स्वार्थ र दाउपेच । डनगिरी । तथाकथित धर्मगुरु ।

विषय गंभीर छ । पस्कने शैली मनोरञ्जात्मक छ ।

चलचित्रले उठाउन खोजेको मुद्दा आयतित र नक्कली होइन । यसलाई हास्य लेपन दिएर पस्किएकाले महका प्रशंसकलाई सुपाच्य लाग्नसक्छ ।

चलचित्रले वर्तमान समाजको अनुहार केही हदसम्म उदाङ्गो बनाइदिएको छ । वैदेशिक मोह र त्यसले निम्त्याउने संकट यसको मूल मर्म हो । चलचित्रले स्वदेशको दाल भात तरकारी छाडेर विदेश जानेहरुको मोहभंग गरिदिन सक्छ ।

किन चिप्लियो ?

चलचित्रको मेरुदण्ड नै कमजोर भयो । हरिवंश आचार्यको परिपक्क हातले लेखेको कथा र पटकथा फितलो मात्र छैन, झर्कोलाग्दो पनि छ । हुन त उनले यसलाई ‘रंगमञ्चको ढाँचामा तयार गरेको र पात्रहरु केही लाउड लाग्नसक्ने’ रक्षात्मक जवाफ दिदै आएका छन् । यद्यपी एउटै घरको कोठाभित्र खुम्चिएको कथा पट्यारलाग्दो छ, भलै यसमा उनले ‘नौलो प्रयोग’ गरेका हुन् ।

चलचित्रलाई सुदन केसीले निर्देशन गरेको भनिएपनि यसमा उनको निर्देशकिय शिल्प कहीँ कतै फेला पर्दैन । बरु जहाँपनि, जहिले पनि हरिवंश आचार्यको हस्तक्षेप महशुस हुन्छ । चलचित्रको मूल कथा विदेश मोह, त्यसले ल्याउने उतार-चढाव र आफ्नै सामाजिक मूल्य हो । तर, यसको प्रवाह घरेलु झगडामै अल्झिएको छ ।

विल्सन विक्रम राइदेखि आँचल शर्मासम्मलाई किन चलचित्रमा समेटियो भनेर अर्थ खोज्नुपर्ने हुन्छ । संभवत धेरै कलाकारको टेकोमा दर्शक हँसाउने चेष्टा गर्नु पनि एउटा भूल हो ।
विदेशी मोहको निहुँमा बुढाबुढीबीच हुने ‘टम एन्ड जेरी’ शैलीको घर-झगडाबाट बाहिर निस्कन नसक्दा दर्शकले फिका हाँसो हास्नु सिवाय केही रोमाञ्चकता अनुभूत गर्दैनन् ।

दर्शक हँसाउने चक्करमा दम्पतीबीच हुने झगडा नाटकिय र टिठलाग्दो बनेको छ । त्यसपछि जोडिन आउने पात्र र घटनाक्रम पनि पत्यारिलो लाग्दैन । चलचित्रमा यति धेरै पात्रको थुप्रो लगाइएको छ कि, जसको आवश्यक्ता दुई-चार संवाद बोलेर हँसाउन बाहेक अरु छैन । विल्सन विक्रम राइदेखि आँचल शर्मासम्मलाई किन चलचित्रमा समेटियो भनेर अर्थ खोज्नुपर्ने हुन्छ । संभवत धेरै कलाकारको टेकोमा दर्शक हँसाउने चेष्टा गर्नु पनि एउटा भूल हो ।

परिवेश, परिस्थितीबाट नभई कटाक्ष मिश्रति संवादबाट हसाउने चेष्टा गरिएको छ । फगत हँसाउनकै लागि मात्र सम्पूर्ण तागत खर्चिएको छ । त्यही चक्करले ‘दाल भात तरकारी’ दर्शकको मेनुमा वेस्वादको खान्की बन्न पुगेको छ ।

-VON

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार