सबसे झुर फिल्मःलब स्टेसन

  KTM reports  190 पटक हेरिएको

फिल्म : लभ स्टेशन | रेटिङ : १/५

गोकर्ण गौतम

निर्माणको आधा शताब्दी बित्यो तर चोरेर फिल्म बनाउने संस्कार अन्त्य भएको छैन । यत्ति हो, पहिले बलिउडबाट मात्र कपी गरिन्थ्यो, हलिउड, कोरियन हुँदै अहिले संसारका अन्य देशका फिल्मबाटसमेत चोर्न थालिएको छ । उज्ज्वल घिमिरे निर्देशित लभ स्टेशन यही प्रवृत्तिको नयाँ शृंखला हो । यसको ट्रेलरको एक दृश्य टर्किस फिल्म हर से असक्तनसँग मिलेपछि सामाजिक सन्जालमा चर्को आलोचना भयो । तर यसबाट मात्र होइन, सन् २०१५ मा प्रदर्शित अर्को टर्किस फिल्म सेबिम्ली तेल्केली (अंग्रेजीमा क्युट एन्ड डेन्जरस) बाट पनि पूरापूर नक्कल रहेछ । बीचमा थोर-थोरै नब्बे दशकको हिन्दी फिल्मको झल्को पाइन्छ । मौलिकताको पूर्ण खडेरी । पुराना निर्देशक घिमिरेले नयाँ पुस्ताका दुई स्टार प्रदीप खड्का र जसिता गुरुङलाई अभिनय गराएका छन् ।दार्जिलिङकी रानी (जसिता)को बाबुको इच्छाबमोजिम अर्जुन (प्रकाश शाह) सँग बिहे पक्का हुन्छ । तर धोका दिएको चाल पाएपछि अर्जुनलाई छाड्ने मनस्थितिमा पुग्छिन् । तड्पिएको यही बेला भेट हुन्छ, दार्जिलिङकै एक रेस्टुराँमा गाउने सागर (प्रदीप) सँग । मायालु व्यवहारका कारण सागरप्रति रानीको माया पलाउँछ । अर्जुनलाई भुल्न थाल्छिन् । तर एक घटनापछि सागरसँग पनि टाढा हुन्छिन् । अब रानी अर्जुनसँगै बिहे गर्छिन् वा सागरसँग ? कथामा केही ट्वीस्ट छन्, जुन पहिल्यै सजिलै अनुमान लगाउन सकिन्छ ।’फ्रेम बाई फ्रेम’ उस्तै भएकाले लभ स्टेशनलाई सेबिम्ली तेल्केलीबाट अलग राख्नै सकिन्न ।

बच्चा जन्माउने सुरुआती दृश्यको खिचाइदेखि पात्रको भावंभगिमासमेत दुरुस्तै । त्यसमा सूर्यमुखी फूलको बगान हुन्छ, यहाँ चियाको । त्यसमाझैँ यसमा पनि शिशुलाई फुच्चेले अपहरण गर्छ । चोरेर भाग्दा फुच्चेले उसैगरी भ्यानभित्रबाट हेर्छ । दृश्यजस्तै पात्र पनि उतैबाट आयात गरिएको रहेछ । जस्तो, टर्किस फिल्ममा शुक्रु ओइल्डिजले निर्वाह गरेको चरित्रमा प्रदीपलाई देख्न पाइन्छ । त्यस्तै, जसितालाई असिन तुरान, प्रिया रिजाललाई तुक्रिन किलिक, रमेश बुढाथोकीलाई तनेर तुरान अनि प्रकाश शाहलाई भोल्कन डिलेकको भूमिका दिइएको छ ।

लभ स्टेशनका सागर गायक हुन्छन्, हर से असक्तनका मुख्य नायक पनि गायकै हुन्छन् । त्यसमा झैँ यसमा पनि हिरोइनसँग बिहे तय भइसकेको केटाले धोका दिन्छ । रानीले रिस फेर्न देखाइने दृश्य पनि उतैबाट आयात गरिएको रहेछ ।गिटार भिर्दैमा गायक मानिदिनुपर्ने जमाना गइसक्यो ।

लभ स्टेशनका लेखक सुवाससिंह बस्न्यातले यस्ता दृश्य सिर्जिएका छैनन्, जसमा ताजापनको आभास हुनसकोस् । बस्न्यातले मेरो एउटा साथी छ पनि कोरियन फिल्म मिलिनिर्स फस्ट लभबाट सारेका थिए ।सम्पत्तिका लागि छोरीको जीवनमाथि खेलबाड गर्ने बाबुहरू कैयौँ पटक पर्दामा हेरिसकियो, प्रस्तुतिमार्फत त्यसलाई रोचक बनाउने अवसर पनि सदुपयोग गरिएको छैन । एकातिर पूरापूर अनुवाद, अर्कातिर जति खिचिएको छ, त्यसमा पनि परिपक्वता र विश्वसनीयता छैन । झेल्न मुस्किल पर्दैन त ? प्रदीप-जसितालाई देखेरै दंग पर्नेलाईचाहिँ त्यसो नहुन सक्छ । नत्र टर्किस फिल्मलाई बिर्संदा पनि लभ स्टेशन नयाँ बोतलमा पुरानो झोल मात्र हो ।त्यसो त, घिमिरेका यसअघिका फिल्म पनि चोरीको बातबाट मुक्त थिएनन् । जस्तो, उनी निर्देशित जीन्दगानी हिन्दी फिल्म होगी प्यार की जीत, किस्मत मध्यान्तरअघि सुवास घईको ताल र पछि मिथुनको प्रेमप्रतिज्ञा अनि छोडिगए पाप लाग्लाचाहिँ इम्त्याज अलीको जब वी मेटसँग मिल्छ । यसपटक तन्नेरीमाझ लोकप्रिय प्रदीप र जसितासँग काम गरेकाले नवीन र आधुनिक कथा भन्लान् भन्ने आशा थियो तर आफ्नो पुरानो बानीबाट टसमस भएनछन् । लभ स्टेशनले निर्देशक घिमिरे, अभिनेता प्रदीप र निर्माण पक्षमात्र होइन, नेपाली फिल्म क्षेत्रकै साख धुमिल्याउनेमा सन्देह छैन । हामीसँग नभनिएका हजारौँ हाम्रै रैथाने कथा छन् ।

त्यसैले चोर्नु हाम्रो बाध्यता होइन, सिर्जना र दर्शकप्रतिको अपमान र बेइमानी हो ।कथाको परिवेशअनुसार पात्र, हुलिया, बोलीचालीमार्फत मौलिकपना महसुस गराउनसमेत निर्देशक चुकेका छन् । ड्रोनबाट दार्जिलिङ र इलामका मनमोहक दृश्य त खिचिएको छ, तर त्यहाँको हावापानी, रहनसहन, संस्कृति, जीवनशैली बेवास्ता गरिएको छ । ‘वर्थ मार्क’कै आधारमा पात्र पहिचान हुने बासी सूत्रमा दर्शक ‘इन्गेज’ हुँदैनन् । बरु लभ स्टेशनका गीत श्रुतिमधुर छन् । सुगम पोखरेलको ‘घामजून चाहिँदैन…’ ले एकछिन भए पनि राहत दिन्छ । प्रदीप र जसिताबीच प्रेम अंकुरण हुँदै गर्दाका केही दृश्य रमाइला छन् । पाश्र्व ध्वनि कर्कश लाग्छ । आलोक शुक्लाको खिचाइले दृश्यभाव खास बिथोलेको छैन ।

यस्तो बासी र चोरिएको कथा अनि फितलो चरित्रले संसारभरका फिल्म हेर्ने आधुनिक पुस्तामाझ प्रदीपको ‘क्रेज’ जोगाउन सक्दैन । पटकथा चयनमा उनी निरन्तर चुकिरहेका छन् । न त उनको अभिनयमै निखारता आएको देखिन्छ । लिलीबिलीबाट दरिलो सम्भावना देखाएकी जसिता यसपटक औसतमै सीमित छिन् ।

रमेश बुढाथोकी र प्रिया रिजालको अभिनय ‘लाउड’ लाग्छ ।चलेका स्टार लिएपछि जे गरे पनि चल्छ भन्ने भ्रमको परिणाम हो, लभ स्टेशन । निर्देशकमा सिर्जनाप्रतिको इमानदारीमा व्यापक खडेरी छ । यो कोटिका फिल्मले प्रदीप-जसितामात्र होइन, समग्र नेपाली फिल्मकै दर्शक भड्कने डर हुन्छ । कम्तीमा फिल्ममेकरको नियत सफा हुनुपर्छ । आत्मरतिमै रमाइराख्ने हो भने त अलग कुरा ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार