गोरेको बयानले सुन काण्डमा संलग्न व्यक्तीको नाम खुल्दै, एमाले नेता पक्राउ

  KTMreports  312 पटक हेरिएको

काठमाडौँ, जेठ ११ २०७५ साढे ३३ किलो सुन तस्करी मुख्य नाइके पक्राउ परेसंगै यसमा संलग्नहरुको नाम खुल्नेक्रम जारी छ । जिल्ला अदालत मोरङमा गोरेको बयान लिने काम पनि जारी रहेकाले अझै सुन तस्करीमा संलग्न हुनेहरु खुल्नेछन् ।गोरेकै बयानका आधारमा प्रहरीले तत्कालीन एमालेका एक स्थानीय नेता रेवत आचार्यलाई पक्राउ गरेको छ। मोरङ उर्लावारीका आचार्यलाई विहीबार पक्राउ गरेको हो । उनी सुन व्यवसायी पनि हुन्।गोरेले अझै सबैको नाम नखुलाएका भएपनि यसमा तलदेखि माथिल्लो तहसम्मका नेता तथा कर्मचारीहरुको संलग्नता रहँदै आएको बताइरहेका छन् ।काठमाडौं, ११ जेठ । सुन तस्करी र सनम शाक्य हत्या आरोपका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीसँग बयान जारी छ ।

मोरङ जिल्ला अदालतका निमित्त स्रेस्तेदार केदारप्रसाद गौतमका अनुसार बुधबारदेखि सुरु भएको गोरेसँगको बयान बिहीबार पनि सकिएन । शुक्रबार बयान सकिएमा आइतबार अदालतले थुनछेक बहस गराउने सम्भावना छ । दुई दिनसम्म गोरेले १६ पृष्ठ लामो बयान दिइसकेको अदालतले जनाएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

सोधेको प्रश्नको आशयभन्दा बढी बोलेर उत्तर दिने भएकाले गोरेको बयान अझै लम्बिने कानुन व्यवसायी बताउँछन् । सुन तस्करीमा हालसम्म अभियोग लागेकामध्ये मुख्य नाइके गोरे देखिएको र अन्य व्यक्तिलाई पनि उनले चिन्छु भनेकाले बयान लम्बिएको छ । ‘अभियोगपत्र नै एक सय ५३ पृष्ठको छ र अभियुक्तहरू पनि धेरै भएकाले सबैबारे सोधपुछ गर्नुपर्ने हुन्छ, जसले गर्दा बयान लम्बिनु स्वाभाविक हो,’ एक कानुन व्यवसायीले भने । अदालतले बन्द इजलासमा गोरेको बयान लिइरहेको छ । आफू असुरक्षित रहेको भन्दै उनले अदालतमा निवेदन दिएपछि प्रहरीले उनको सुरक्षा कडा बनाएको हो ।
गोरेको पक्षमा एकजना मात्र कानुन व्यवसायी

गोरेको पक्षमा बहस गर्न एकजना मात्र वकिल अघि सरेका छन् । अदालतका ६ नम्बर इजलासको स्रेस्ता राख्ने फाँटअनुसार उनको पक्षमा बहस गर्न अधिवक्ता यमबहादुर थापामगरले मात्र वकालतनामा दर्ता गराएका छन् । बन्द इजलासमा गोरेसँगको बयानमा कानुन व्यवसायी थापामगर मात्र सहभागी भइरहेका छन् । सुन तस्करी र सनम हत्या प्रकरणमा अभियोग लागेर पक्राउ परेका अन्य ३० जना अभियुक्तको पक्षमा बहस गर्ने मोरङ र काठमाडौंका क्रियाशील कानुन व्यवसायीलाई नैतिकताको संकट परेपछि उनीहरू गोरेको पक्षमा बहस गर्न हच्किएका छन् ।

गोरेको मुख्य प्राथमिकता ज्यान सुरक्षा
गोरेले मुख्य प्राथमिकता आफ्नो सुरक्षालाई बनाएका छन् । आफू असुरक्षित रहेको भन्दै उनले बुधबारै मोरङ जिल्ला अदालतमा मानव अधिकारकर्मीहरूको समेत निगरानीमा सुरक्षा प्रदान गर्न माग गर्दै अदालतमा निवेदन दिएर आदेश पाइसकेका छन् । कानुन व्यवसायीका अनुसार गोरे चौतर्फी सुरक्षा थ्रेटमा छन् । उनलाई संगठित अपराधका बोस (मुख्य नाइके) आरोपी भएर जेल गएका गिरोहका सदस्यहरू, मतियार बनेका पूर्व र निलम्बित प्रहरीहरू अनि प्रहरीसमेतबाट त्रास पैदा भएको छ । यसैले दुई महिनासम्म फरार भए पनि उनले असुरक्षित महसुुस गरी योजनासहित प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् ।

अदालतका कर्मचारीहरूका अनुसार गोरेले परस्परमा बाझिने उत्तरहरू दिइरहेका छन् । उनलाई अदालतका कर्मचारीले सही र सत्यतथ्य उत्तर दिन आग्रह गर्दै बयान लिइरहँदा उनले उत्तरमा भन्ने गरेका छन्, ‘म आफू दियोजस्तै बलेर अरूलाई बचाउँछु । फेरि भन्ने गरेका छन्, मेरो कुनै कसुर नै छैन, मलाई फसाइएको हो, यसैले म कसैलाई बाँकी राख्दिनँ ।’ गोरेले अदालतमा अभियोग लागेका ६३ जना सबै अभियुक्तलाई आफूले चिनेको स्वीकार गरिसकेका छन् । ‘गोरे अब आफैँ न्यायाधीशझैँ भएका छन्, उनले के भन्छन्, त्यसले न्यायमा धेरै अर्थ राख्छ,’ कानुन व्यवसायी उद्धवचन्द्र घिमिरेले भने ।
गोरेका बाबु भन्छन्–मैले भनेको नमान्दा यस्तो हबिगत व्यहोर्नुपर्यो

गोरेलाई अदालतमा हाजिर गराइएपछि उनका बाबु नेत्र उप्रेती मोरङ आएका छन् । उनले आफूले छोरालाई पहिलेदेखि नै अवैध काममा नलाग्न र बानी सुधार्न आग्रह गर्दै आएको जानकारी दिँदै नमान्दा यस्तो हबिगत भएको पत्रकार र कानुन व्यवसायीसँग बताएका छन् । पहिले मोरङको इटहार झुनाबारी हुँदै उर्लाबारी नगरपालिका– ७ मा बसोवास गर्दै आएका नेत्र सपरिवार पाँच वर्षदेखि काठमाडौं गौरीधारा बस्न थालेका थिए ।

उर्लाबारी– ७ पशुपति मार्गमा रहेको पुरानो घर उनले भाडामा लगाएका छन् । काठमाडाैँको घर आफू प्रहरी सेवाबाट अवकाश भएपछि पाएको पैसा र पहिले गोरे विदेशमा गएर कमाएको पैसाले बनाएको, तर कुनै अवैध कमाइ लगानी नभएको उनको भनाइ छ । ‘काठमाडौंको घर गोरेको अवैध कमाइले होइन, वैध कमाइको हो,’ नेत्रले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार