चोट के हो, व्यथा के हो, नारीलाई सोध !

  KTMreports  81 पटक हेरिएको

रमा भट्टराई
सामान्य अर्थमा सत्ता भनेको शक्ति केन्द्रित रहने स्थान विशेष, संस्था, पद्धति वा संस्कारलाई बुझाउँछ ।पितृसत्ता एउटा त्यस्तो सामाजिक संस्कार हो जसमा पारिवारिक, सामाजिक, आर्थिक भूमिकामा पिता, पुरुष वा लोग्नेमान्छेलाई प्रधान मानिन्छ र भौतिक तथा मानसिक रूपमा लोग्नेमान्छेको श्रेष्ठतालाई स्वीकार गरिन्छ । सामाजिक तथा सार्वजनिक जीवनमा फाट्टफुट्ट महिलाबाहेक सबैतिर लोग्नेमान्छेको हालिमुहाली देखेर हामी बोलीचालीमा हाम्रो समाजलाई पितृसत्तात्मक समाज भनी परिभाषित गर्छौं । के राज्यका हरेक निकाय, तह र तप्कामा पुरुषको अधिक उपस्थिति हुनुमात्रै पितृसत्ता हो त? कसरी पितृसत्ताले समाजमा शासन गरेको छ? पितृसत्तामा महिलाहरू कसरी उत्पीडित हुन्छन्? कसले त्यो सत्ता चलाउँछ? ती विषयहरूमा कुनै वर्ग विशेषलाई दोषारोपण नगरी तटस्थ रूपमा छलफल गर्ने प्रयास यस आलेखमा गरिएको छ।

हामीले सतही रूपमा बुझेको घरदेखि सरकारसम्म निर्विकल्प स्वीकारिएको पुरुषप्रधान भूमिका त पितृसत्ताको नतिजा मात्र हो । खासमा पितृसत्ता देखिनेभन्दा नदेखिने गरी महिला पुरुष दुवैको मन–मस्तिष्कमा गहिरोसँग गाडिएको छ । शारीरिक र भावनात्मक रूपमा महिला भएरै पनि हामी पितृसत्ताकै पक्षपोषण गरिरहेका हुन्छौँ । यसो हुनुमा कुनै व्यक्तिविशेषको गुण–दोषभन्दा सदियौँदेखिको सामाजिक संस्कार र सिकाइ नै प्रमुख कारण हो । मानव सभ्यताको विकाससँगै सुरुवात भएका सामाजिक पारिवारिक संरचनालाई व्यवस्थित गर्न शारीरिक जैविक अनुकूलताको आधारमा छुट्याइएका भूमिकाबाट नै पछि आएर लैंगिक असमानताको बिजारोपण भएको पाइन्छ । लामो समयदेखि समाजमा जे अभ्यास हुँदै आयो त्यसैलाई सत्य मानेर अभ्यास गरिरहँदा लैंगिक असमानताको जरो गहिरिँदै गएको र पितृसत्ता बलियो हुँदै गएको हो । जसको पक्षमा सुविधा छ उसले सुविधा कटौतीको कुरा नउठाउनु स्वाभाविक हो । साथै, आश्रितले आफ्नो शारीरिक सुरक्षा खातिर मालिकको विरुद्ध आवाज उठाउन नसक्नुकै परिणाम स्वरूप पितृसत्ताको स्थापना र भरणपोषण हुँदै आएको छ।सार्वजनिक जीवनमा सफल देखिएका महिलालाई बात लगाउने आम प्रचलन नै छ । फलानोले तानेको वा फलानोसँग यसको लसपस छ त्यही भएर त्यो त्यहाँ पुगी आदि । महिलालाई कुनै पुरुषसँग बोलेको, हिँडेको, हाँसेको देख्नेबित्तिकै चरित्रमा शंका गर्ने, कुनै अवसर पाइयो भने हाकिमसँग बात लाउने प्रवृत्ति पाइलैपिच्छे छन्, मानौँ लसपस ऊ एक्लैले गरेकी छे ।
घरघरमा देखिने सासू–बुहारी, नन्द–भाउजू र सौतेनी मामलाका मनमुटाव पनि पितृसत्ताकै उपज हुन् । त्यही एउटा लोग्नेमान्छेप्रतिको निर्भरता, उसैमा निहित भविष्यको सुरक्षा, उसैसँग जोडिएका सामाजिक प्रतिष्ठाका कारणले को बढी नजिक हुने प्रतिस्पर्धाले परिवारका स्त्री सदस्यहरू एकआपसमा लड्ने गरेको पाइन्छ । छोराप्रतिको आशक्ति, छोरा जन्माउन धेरै छोरी जन्माउने, लिंग परीक्षण गरेर स्त्री भ्रुणको हत्या गर्ने, चाइनिज क्यालेन्डर, जडिबुटी र ज्योतिष शास्त्रको प्रयोग गर्नेमा पढेलेखेका सहरियाहरू नै पर्छन्। यसमा पनि महिलाहरू नै बढी लागिपरेको देखिन्छ । यसको दोष कुनै अमूक महिलाको नभई लोग्नेमान्छेलाई समाजले दिएको महत्वको हो । आफ्नो खुसी वर्तमान र सुरक्षित भविष्यका लागि एउटी महिला आफूजस्तै महिला जन्माउनुभन्दा पुरुष जन्माउन बढी लालायित हुन्छे।

दक्षिण एसियाली समाजमा हामी महिला स्त्री शरीरमा पुरुष मानसिकता बोकेर हिँडका छौँ । कतिपय पढेलेखेका महिलाले नै अर्को महिलाले लाएको, खाएको, बोलेको, हिँडेको, हाँसेको विषयमा नकारात्मक टिप्पणी गरेको सुनिन्छ । यसो गर्नुपथ्र्याे, उसो गर्नुपथ्र्याे, कस्तो नसुहाएको, लोग्ने त्यस्तो छ ऊ त्यस्ती, आईमाई भएर त्यस्तो गर्नु हुन्छ भन्ने नियमहरू बनाएको र व्याख्या गरेको प्रशस्तै सुनिन्छ । कति नराम्री, आफ्नो मेन्टेन नगरेकी, बोली–व्यवहार रुखो अनि कसरी लोग्ने चित्त बुझाएर बसोस् त, चरित्र पनि ठीक छैन रे, घर पनि राम्रो सम्हालिन, बिचरा के गरोस् त फलानो भन्दै अर्की केटी लिएर हिँड्ने लोग्नेमान्छेकै पक्षमा बहस गरिन्छ । तर के नराम्रो, जड्याहा, दसौँ केटीहरू फेर्दै हिँड्ने घरको बेवास्ता गर्ने लोग्ने कि स्वास्नीलाई अर्को केटा साथी बनाउने छुट यो समाजले दिएको छ ? यस्तो घटनामा महिलालाई अर्ति उपदेश दिइन्छ कि तिमीले घर सम्हाल्नुपर्छ, लोग्ने बेकामे हुनु तिम्रो पूर्वजन्मको कमाइ हो, छोराछोरी परिवारको मुख हेरेर बस । त्यसैगरी स्वास्नी मरेको लोग्नेका असुविधामा समाज अत्यन्तै संवेदनशील हुन्छ, के त्यसरी नै अल्प उमेरमै लोग्ने गुमाएकी महिलाप्रति थोरै सहानुभूति राख्न सकेको छ यो समाजले ? महिलालाई त खालि तिमीले सहनुपर्छ, खप्नुपर्छ, सम्हालिनुपर्छ भनेर फोस्रा चट्टानी आदर्श सिकाएर सधैँ एउटा परिधिभित्र बाँधेर एक्काको घोडाजस्तो एकोहोरो बनाइन्छ । नत उसलाई कमजोर भएर बहुलाउने छुट दिएको छ, न त गरिखाएर प्रगति गरेर उन्नत जीवन बाँच्दा लान्छनामुक्त राखेको छ । घरमा उत्पीडित भएर माइत पुगेकी छोरीलाई उसको कथा सुनेर सान्त्वना र आश्रय दिनु त कता हो कता उल्टै उसकै व्यवहारमा प्रश्न गरिन्छ । तँैले भनेको मानिनस् होला, सम्मान र चाकडी गरिनस् होला, सहनुपर्छ, खप्नुपर्छ, जे भए पनि त्यो तेरो घर हो, घरमा बेमेल भएको समाजले राम्रो मान्दैन आदि आदि । घरको इज्जत पनि बुहारीले धान्नुपर्ने, माइतीको शरम पनि छोरीले छोपिदिनुपर्ने । अरूले बिगार्दै हिँडेका व्यवहारहरू पछिपछि सम्हाल्दै हिँड्नुपर्ने, बिहे अघिदेखि नै अनेकौँ कुलतमा फसेको लोग्नेलाई उसैले सुधार्नुपर्ने, कुलत नछुटे त्यति एउटा लोग्ने पनि सुधार्न सकिन, उसैलाई दोष आउने । मानौँ ऊ एक्लै सबै बिग्रिएका भत्किएका बाटो बिराएका विषयहरू सम्हाल्ने बिना फ्युलको मेसिन हो ।
महिला हक–अधिकारका कुरा उठाउनेहरूले महिलाको शिक्षादीक्षा, रोजगारी, भातभान्साको एकल जिम्मेवारी, महिलामाथि हुने हिंसा, समानताका विषयमा वकालत गरेको तथा कानुनी रूपमा हकहरू स्थापित भएका पनि छन्, नीति निर्माणदेखि कार्यान्वयनका तल्ला तहसम्म महिलाको उपस्थिति दिनहुँ बढिरहेको छ। यो सकारात्मक पाटो हो । तर तथ्यांकगत समानता जति बढेपनि पितृसत्तामा हुर्किएको हाम्रो मानसिकता बदलिनै सकेको छैन । एकातिर मानसिक रूपमा हामी महिला आत्मनिर्भर हुन सकेका छैनौँ भने अर्कोतिर दोहोरो माथि थपिएको तेहोरो भूमिकाले झन् थकितरशोषित भएका छौँ । काम गरेर पैसा कमाएर पनि हामी घरव्यवहारका आर्थिक निर्णयमा निर्णायक हुन सकेकै छैनौँ, आफ्नो कमाइमा आफ्नो हक तथा घरको बाध्यात्मक आर्थिक जिम्मेवारी पनि वहन गर्न हामी पछाडि पर्छौँ । यसो हुनुमा दोष हाम्रो होइन, हाम्रो संस्कारगत संरचनाको छ । देवी, भगवतीकारूपमा सम्मान संरक्षणको नाममा परनिर्भर बनाइँदै छ । छोरालाई सानैदेखि टिका लगाएपछि दक्षिणा दिएर ढोग्न सिकाइन्छ भने छोरीलाई दक्षिणा दिइन्छ र उसको पैसा जोगाइदिने, बाबुआमाले चलाए थपेर फिर्ता गर्ने जुन चलन छ यसले त महिलालाई दिएको खाने, कमाउन नपर्ने सिकायो । कतै जानुपरे बुबा वा दाजुभाइले पु¥याइदिने, लिन जाने जुन संरक्षणमुखी प्रचलन छ, त्यसले उसको आत्मविश्वास बढ्नै दिएन । महिलाको यही विषयलाई लिएर महिलाहरू काम गर्दैनन्, जिल्ला जाँदैनन्, कार्यालयमा धेरै समय दिँदैनन् भनी टीकाटिप्पणी गरिन्छ । अनि त्यही संरक्षणको परिणामस्वरूप विकसित हाम्रो समर्पित मानसिकता पनि परनिर्भरता र कमजोर आत्मविश्वासको कारण हो । हाकिमनी, सुब्बिनीरसिडिओ साहेप्नी हुनुमा गर्व गर्ने, श्रीमान्को पढाइ पदोन्नति कमाइका योजना बुन्ने, कल्पना गर्ने, त्यसैमा आफू समर्पित हुने, सफल व्यक्तिको आश्रय पाउनुलाई सफलता ठान्ने हाम्रो मनोवृत्ति जुन पितृसत्तात्मक मानसिकताबाट निःसृत छ।

माथि चर्चा गरिएझँै छोराप्रतिको आशक्ति हुनुमा समाजमा छोराले बाबुआमाप्रति निर्वाह गर्ने जुन जिम्मेवारीपूर्ण भूमिका छ त्यो अधिकांश छोरीले निर्वाह नगर्नुले पनि हो । एकातिर छोरीलाई जिम्मेवारी दिएर हुर्काइँदैन, बाबुआमाले पनि छोरीबाट त्यो अपेक्षा राख्दैनन्, बाबुआमाको सम्पत्तिमा निर्बाध हक पनि हुँदैन भने अर्कोतिर विवाह गरेर अर्को घर जाने, विवाहित घरको मूल जिम्मेवारीबाट बचेको समय, स्रोत र साधनबाट के छोराले जसरी छोरीले बाबुआमा स्याहार गर्न सम्भव छ त ? अनि के यो त्यो छोरीको दोष हो त ? यसमा त्यही पितृसत्तामा स्थापित सामाजिक संरचनाको दोष छैन ?
कतिपय सरकारी निकायमा त्यहाँका प्रमुखले महिला कर्मचारी नपठाइदिनु, यहाँ महिला धेरै भएर काम भएन, घरपरिवार छोराछोरी भनेर काममा समय दिँदैनन् भनेको पनि सुनिन्छ । जुन केही हदसम्म सही पनि होला, कामै पनि रोकिएला तर के कार्यसम्पादन उत्कृष्ट नगर्नु त्यो महिलाको रहरै होला त, त्यो घर ती छोराछोरी महिलाको एकल जिम्मेवारी हो त ? परिवार समाज र सरकारले यसमा सहजीकरण गर्नुपर्छ कि पर्दैन? त्यो महिलाले जन्माएको र धपेडी गरेर, कामचोर सुविधाभोगीको आरोप खपेर हुर्काउँदै गरेको बच्चा त त्यही देशको नागरिक हो नि । त्यस्तो नागरिकप्रति राज्यको कुनै भूमिका हुन्न ? प्रकृतिले दिएको जैविक भूमिका त भाग लगाउन सकिन्न तर समाजले भाग लगाएका भूमिका निर्वाहमा समन्वय तथा सहजीकरण गर्न सकिन्छ नि । तर परम्परादेखि नै झन्झटिला, समय लाग्ने, आर्थिक उपार्जन नहुने, जस नपाउने, काम नदेखिने, बल खर्चिने, वृत्ति विकास नहुने काम महिलाले गर्ने थिति बसालिएको छ । उदाहरणका लागि, अधिकाश होटल तथा रेस्टुरेन्टमा कुक पुरुष हुन्छन् भने अधिकांश घरका लोग्नेमान्छेले चुलो छुँदैनन् । त्यस्तै पुराण वाचक तथा पूजारी पुरुष हुन्छन् भने पुराणमा नाच्ने र मन्दिरमा लाइन लाग्ने अधिकांश महिला हुन्छन्।

अब कामकाजी महिलाको अर्को प्रसंग जोडौँ। सार्वजनिक जीवनमा सफल देखिएका महिलालाई बात लगाउने आम प्रचलन नै छ । फलानोले तानेको वा फलानोसँग यसको लसपस छ त्यही भएर त्यो त्यहाँ पुगी आदि । खास गरी महिलालाई कुनै पुरुषसँग बोलेको, हिँडेको, हाँसेको देख्नेबित्तिकै चरित्रमा शंका गर्ने, कुनै अवसर पाइयो भने हाकिमसँग बात लाउने प्रवृत्ति पाइलैपिच्छे छन्, मानौँ लसपस ऊ एक्लैले गरेकी छे । लंैगिक समावेशीकरण पढाउने साथीले अनुभव सुनाएको सम्झन्छु, ‘कलेजमा ठूलो ठूलो स्वरमा लैंगिक समानता पढाएर न्याउरीमुसो जस्तो भएर घर छिर्नुपर्ने अवस्था मेरो आफ्नै छ । दुनियाँको नजरमा म जत्तिकी सशक्त महिला घर फर्किंदा अबेर भयो भने राता गाला र ठूलो स्वर मैले नै झेल्नुपर्छ । दूरदराजका अशिक्षित महिलालाई अन्यायविरुद्ध र अधिकार प्राप्तिका लागि लड भन्न मेरो स्वर डगमगाउँछ ।’ पढेलेखेका वा निरक्षर, धनी वा गरीब, ग्रामीण वा सहरिया, कामकाजी वा घरायसी काम मात्र गर्ने वा जुनसुकै धर्म, वर्ग, क्षेत्र वा उमेरका महिला आर्थिक, सामाजिक, शारीरिक वा भावनात्मक रूपमा पुरुषबाट वा महिलाबाटै उत्पीडित वा दमित हुनुपर्ने ? यसका कारण खोतल्दा हाम्रो मन–मस्तिष्कमा खिल जसरी गाडिएको पितृसत्ता जसले पुरुषको अनुकूलताको वकालत गर्छ, त्यही नै देखिन्छ ।सार्वजनिक जीवनमा सफल अधिकांश महिलाको पारिवारिक जीवन तनावग्रस्त भएको सुनिन्छ वा सम्बन्ध टिकाउन पीडादायी सम्झौता गर्नुपरेको सुनिन्छ र फेरि आइमाई माथि पुगेपछि कसैले सम्हाल्न सक्दैन भनेर व्यंग्य गरेको पनि सुनिन्छ। तर यसको अर्को पाटो छोरीको बिहे गर्दा छोरीभन्दा धेरै पढेको, ठूलो जागिर, धेरै कमाउने, बढी उमेरको, अग्लो ज्वाइँ खोज्ने, श्रीमान्भन्दा श्रीमती पढाइ–जागिरमा अगाडि बढी भने स्वास्नीले जिती, अब स्वास्नीको कमाइ खाएर बस्छस् भन्दा उसको ‘म ठूलो’ भन्ने अहंकारमा चोट पुग्छ, जसले गर्दा दिनरातका हरेक प्रसंगमा शंका, इगो, अहंकार र प्रतिस्पर्धाले जीवन तहसनहस बनाउँछ।

यसो हुनुमा कुनै पुरुष वा महिलालाई आरोप–प्रत्यारोप गरेर यो समस्या सुल्झँदैन । यसमा बिचरो त्यो लोग्नेमान्छेको पनि कुनै दोष हुँदैन, ऊ मनोवैज्ञानिक दबाबमा हुन्छ कि उसलाई श्रीमतीले उछिनी भने साथीभाइ, बाबुआमा, ससुरालीले उसको पुरुषत्वमा शंका गर्छन् । अनि उसलाई सधैँ आफू नहेपिने, ठूलो भइरहने, कमाइ गरेर स्वास्नी–छोराछोरी पाल्ने मानसिक दबाब भइरहन्छ । केही समयअघि सँगै लोकसेवा आयोगको तयारी गरेका श्रीमान्–श्रीमतीमाश्रीमतीले मात्रै पास गरेपछि श्रीमान्ले शरीरमा मट्टीतेल खन्याएर आगो लगाएको घटनाबाट उसको मानसिक दबाबको अनुमान गर्न सकिन्छ।श्रीमान्भन्दा माथिल्लो ओहोदामा जान हतारो नगर्ने र आफन्तहरूबाट पनि त्यस्तै सुझाव दिने गर्नाले पनि पुरुषहरूको बडप्पन÷प्रभुत्वलाई नै समाजले बढावा दिएको छ । यसो हुनुमा महिलाको सहअस्तित्व स्वीकार गर्न नसकिनु नै प्रमुख कारण हो । यो पितृसत्ताबाट पुरुषहरू पनि सामाजिक, आर्थिक, मानसिक दबाबमा छन् । पछिल्लो समयमा सरकारले लैंगिक मूलप्रवाहीकरणको नीतिअनुरूप सार्वजनिक क्षेत्रमा महिला पुरुषको समान सहभागिताका लागि कानुनी आधारहरू तयार गरेको छ । यसले क्रमिक रूपमा सार्वजनिक जीवनमा महिला सहभागिता बढ्दै छ । कुनै दिन बराबरी पनि पुग्ला तर उल्लेख गरिएका मानसिक, भावनात्मक, मनोवैज्ञानिक र व्यावहारिक असहजता हटी देखिने र नदेखिने तर अनुभूत गर्ने खालको समानता कायम गर्न पुस्तौँ पुस्ता कुर्नु नपर्ने गरी यहाँ पितृसत्ता र मातृसत्ताको बहस होइन, सबैले आत्मसम्मानपूर्वक बाँच्न पाउने समतामूलक समाज हुनुपर्छ भन्ने हो र अबको महिला आन्दोलन यहीँबाट सुरु गर्नुपर्छ।
(उपसचिव, श्रम तथा रोजगार मन्त्रालय)

नागरिकन्युज

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार