राष्ट्रपतिमा विद्यादेबी र झलनाथको कस्साकस्सी

  केटिएम रिपोर्टस्  81 पटक हेरिएको

काठमाडौँ । राष्ट्रपतिको निर्वाचन यही फागुन २९ गते हुँदै गर्दा त्यसको कार्यतालिका समेत सार्वजनिक भइसकेको छ । तर उम्मेदवारको टुंगो अझै लाग्न सकेको छैन ।एमाले–माओवादीको भागबण्डा अनुसार राष्ट्रपति एमालेले र उपराष्ट्रपति माओवादीले पाउँदै छ । तर उम्मेदवार भने अझै खडा भइसकेका छैनन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डबीच भएको सहमति अनुसार पुरानै अनुहारलाई दाहोर्याउने पक्का छ ।

तर त्यो सहमति सधै रहिरहँदैन । समयअनुसार फेरिँदै जान्छ । मनोनयनको संघारमा एमाले स्थायी समितिका नेताहरू वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोहोर्याउने कि नयाँ उम्मेदवार अघि सार्ने भन्ने दुई कित्तामा उभिएका छन् ।

भण्डारीलाई दोहोर्याउन नहुने पक्षधर नेताहरूले वरिष्ठ नेता झलनाथ खनाललाई राष्ट्रपति बनाउन लबिङ गरिरहेका छन् । तर राष्ट्रपतिको ब्याटल रिङबाट अर्का आकांक्षी मानिएका सुवास नेम्वाङ भने बाहिरिइसकेको स्रोत बताउँछ ।
स्रोत भन्छ, ‘नेम्वाङ कमरेडलाई अगाडि बढ्न दिइएन उहाँ बीचबाटोमै रोकिनु भयो ।’

रिङमा अब भण्डारी र खनाल रहेका छन् । भण्डारी दोहोरिने इच्छा पहिलेदेखि नै देखाउँदै आएकी छिन् भने खनालले सार्वजनिक रूपमै आफू राष्ट्रपतिको उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् ।

खनालले आफू पछि नहट्ने बताउँदै आएका छन् । उनले स्थायी समितिमा भोटिङको स्थिति आए पनि सामना गर्ने भन्दै आफ्नाहरुलाई आश्वस्त पारिरहेको बुझिन्छ ।संस्थापन पक्ष भण्डारीको पक्षमा रहेको छ । ओलीले पहिलेदेखि नै विद्या नै राष्ट्रपति हुने संकेत गरेका थिए । एमालेको स्थायी समिति भने खनालको पक्षमा देखिएको छ ।

के हो खनालको ब्याकअप ?
खनालको पक्षमा अहिले सबैभन्दा ठूलो तागत बनेर उपाध्यक्ष बामदेव गौतम देखिएका छन् । गौतमको केही समयदेखि केपी ओली संगको सम्बन्ध चिसिएको छ । प्रतिनिधि सभाको निर्वाचनमा बामदेवलाई हराउन केपी ओलीदेखि राष्ट्रपति कार्यालयसमेत लागेको आरोप छ ।

गौतमले पार्टी एकता भएपछि दुवै दलको मध्यस्थ प्रधानमन्त्री आफू नै हुने भन्दै दावी गर्दै आएकामा उनलाई चुनावमै घात गरिएको हो । त्यो चिसोपनको आभाष मेट्न पनि बामदेवले झलनाथलाई साथ दिइरहेका छन् ।माधवकुमार नेपाल पक्ष पनि झलनाथकै पक्षमा उभिएको छ ।

यति हुँदा पनि विद्यादेवी कमजोर भने छैनिन् । उनलाई संस्थापनको बलियो साथ छ ।झलनाथ खुलेर उम्मेदवार बन्ने बताए पनि विद्या चुप लागेर भने बसेकी छैनिन् । उनले टेलिफोन गर्दै लबिङ गरिरहेकी छिन् । माओवादीबाट उनले पूर्ण मत पाउने सम्भावना छ । यसबारे प्रचण्डले हरियो झण्डा देखाइसकेका छन् ।

अर्थमन्त्री हुने महासचिव ईश्वर पोखरेलको इच्छालाई लत्याएका केपी ओलीलाई ठेगानमा ल्याउन उनले पनि झलनाथलाई सघाउने हो भने नेपालको नयाँ राष्ट्रपति हुन खनाललाई कसैले रोक्न नसक्ने पनि स्रोत बताउँछ ।

उम्मेदवार छिनोफानो मंगलबार
एमालेले राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन मंगलबार स्थायी समिति बैठक बोलाएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा अपराह्न ४ बजे बोलाइएको बैठकको एजेन्डाबारे भने नेताहरूलाई जानकारी नदिइए पनि राष्ट्रपतिको उम्मेदवार मनोनयनका लागि नै बैठक बस्ने स्रोतले बताएको छ ।

जित्लान् त झलनाथले ?
एमालेभित्र २६ जनाको स्थायी समितिमा २२ जनाले मात्र निर्णय प्रक्रियामा भाग लिन पाउँछन् । भण्डारीलाई ओलीको समर्थन रहेकाले मतदानकै अवस्था सिर्जना भए उनको पक्षमा १० नेता उभिने स्थिति देखिन्छ ।

खनालको पक्षमा पनि उपाध्यक्ष गौतमसहित १० सदस्य छन् । अर्का वरिष्ठ नेता नेपालनिकट अधिकांश नेता खनाललाई समर्थन गर्न तयार देखिएका हुन् । यो अवस्थामा खनाल बलिया छन् । तर जो पनि अहिले को बलियो छ भनेर हेर्ने हुँदा ओलीले त्यसमा राम्रै भूमिका खेल्नासाथ नेपाल पक्ष तलमाथि हुन सक्ने देखिन्छ ।

तसर्थ नेपाल निर्णायक भूमिकामा रहेका छन् । त्यसो त नेपाल पक्ष पनि अवसरवादी छ । ओलीलाई चिढ्याउँदा पाइने कुनै अवसर पनि गुम्न सक्नेछन् ।तसर्थ यसपटक एमालेभित्रै राष्ट्रपतिका लागि निकै ठूलो चलखेल हुने देखिएको छ ।

अष्टलक्ष्मी शाक्य प्रदेश ३ को मुख्यमन्त्री बन्न खोजिरहँदा जसरी विद्यादेवी नै ठूलो तगारो बनेकी थिइन् यसपटक नेपाल पक्षले यसलाई मनन गर्ने हो भने राष्ट्रपतिको नतिजा जे पनि हुन सक्छ । हाम्रा कुरा बाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार