मेलबर्नमा कर्मचारीलाई कम तलब दिएपछि २ लाख डलर जरिवाना

मेल्बर्न । रेष्टुरेन्ट व्यवसाय निकै फस्टायो एकपटक । त्यतिबेला कुनै पनि देशको मौलिक खाना बनाउने र त्यसैको आडमा कुक र सेफ लगायतका पदहरुमा मानिस ल्याएर कम तलबमा काम गराउने लहड नै चल्यो । धमाधम रेष्टुरेन्टहरु खुल्न थाले । चार जनालाई स्पोन्सर गर्यो भने त पूरै आफ्नो लगानी नै फिर्ता हुने अवस्था समेत देखियो ।यही विकृति देखेको अष्ट्रेलियाको अध्यागमनले अहिले विस्तारै यस्ता पदहरुमा दिने स्पोन्सरसिप नै कम मात्र गरेको छैन । चलिरहेका रेष्टुरेन्टमा छापा मार्ने क्रमलाई पनि अगाडि बढाएको छ । यसैक्रममा मेलबर्नमा सञ्चालित एक रेष्टुरेन्टमा काम गर्ने १३ जना कामदारलाई कम तलबमै काम गराएको पाएपछि त्यस्तो रेष्टुरेन्ट सञ्चालकलाई २ लाख डलर जरिवाना मात्र गरिएको छैन कर्मचारीहरुले पाउने पूरै तलब पनि हाल्न लगाइएको छ ।

वान्टिर्नामा रहेको वेष्टफिल्ड नक्स सपिङ सेन्टरमा सञ्चालित रेड साल्मोन रेष्टुरेन्टका सञ्चालक अब्दुल हफिज विवानीलाई २९ हजार ५ सय र उनको कम्पनी फिन फिस प्राईभेट लिमिटेडलाई १ लाख ६३ हजार जरिवाना भएको छ । यहाँको कामदारका समस्याहरुको विषयमा हेर्ने निकाय फेयर वक्र्सको तर्फबाट भएको अनुसन्धानपछि यस्तो कारवाही गरिएको हो ।

उनको रेष्टुरेन्टमा काम गर्ने १३ जनालाई निकै थोरै तलब दिइएको थियो । तलब नै कम थियो एकातिर भने अर्कोतिर उनीहरुले पब्लिक होलिडे, विकेन्डमा काम गरेको हिसाब किताबै थिएन । यो कारवाहीपछि सबै कर्मचारीलाई उनीहरुले पाउने सुविधाको तलब पूरै दिइएको छ । न्यायाधीश ग्रान्ड रिथमुल्लरले काम लगाउने व्यक्तिले शोषण गरिरहेको बताएका छन् ।

बहसका क्रममा सञ्चालक अब्दुल हफिजले कर्मचारीलाई बस्ने, खाने सुविधा दिएको भनेर दावी गरेपनि त्यस्तो नपाइएको बताएका छन् । यी कर्मचारीको एकाउन्ट पनि बुझिने तवरमा नराखेको अभियोग पनि सञ्चालकलाई लागेको छ । फेयर वक्र्सकी नटानी जेम्स भन्छन्, हामीले त्यस्ता सञ्चालकहरुलाई कुनै सहयोग गर्न सक्दैनौं जसले कानून मान्दैनन् र हाम्रो सुझावहरुलाई पनि मनन गर्दैनन् । आफुलाई कसैले अन्याय गरेको छ भन्ने लागेको अवस्थामा निम्न नम्बरमा फोन गरेर पनि सेवा लिन सकिने उनले जानकारी गराएका छन् ।

mntv

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार