राष्ट्रपति सीको लागि तेश्रो पल्ट राष्ट्रपति बन्ने बाटो खुल्यो

  केटिएम रिपोर्टस्  77 पटक हेरिएको

काठमाण्डौ ।

चीनले राष्ट्रपति तथा उपराष्ट्रपति दुई कार्यकाल भन्दा बढी नरहने संवैधानिक प्रावधान हटाउने भएको छ। संविधानमा गरिने यो परिवर्तनले वर्तमान राष्ट्रपति सी चिनफिङलाई २०२३ पछि तेस्रो कार्यकाल पनि राष्ट्रपति बन्ने बाटो खोल्नेछ।

चीनको सरकारी समाचार संस्था सिन्हले भर्खरै जनाए अनुसार हालै भएको चिनियाँ कम्युनिष्ट पार्टीको बैठकले ‘राष्ट्रपति तथा उपराष्ट्रपति दुई कार्यकाल भन्दा बढी नरहने’ संविधानको प्रावधान हटाउन प्रस्ताव गरेको छ।

शनिबार सम्पन्न पार्टीको पोलिटब्यूरो बैठकले गरेको यो प्रस्ताव सोमबार सुरु हुने केन्द्रिय समितिको विस्तारित बैठकले अनुमोदन गर्ने बताइएको छ।

पार्टीको यो निर्णयलाई मार्चमा हुने चीनको नेशनल कंग्रेसको अधिवेशनले अनुमोदन गरी संविधान परिवर्तन गर्न सक्नेछ, जुन अधिवेशनले सीलाई दोस्रो पटक राष्ट्रपति चयन गर्दैछ।

गत अक्टोबरमा भएको कम्युनिष्ट पार्टीको महाधिवेशनले संविधानमै सी विचारधारा राख्ने प्रस्ताव गरेपछि राष्ट्रपति सीले आफ्नो कार्यकाल दुई पटक भन्दा बढी लम्ब्याउन सक्ने अनुमान गरिएको थियो।

सन् २०१३ मा हु जिन्ताओका उत्तराधिकारीका रुपमा सत्तामा आएका सी चीनमा माओपछिकै शक्तिशाली नेता मानिएका छन्। चीनमा माओको उदयपछि १९५० मा जन्मेका उनी नयाँ पुस्ताका नेता हुन्। उनका पिता चीनका उपप्रधानमन्त्री थिए।

राष्ट्रपति बनेदेखि नै सेना र सत्ताका सम्पूर्ण अंगमा पकड जमाएका सी ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ अवधारणा अगाडि सारेपछि अन्तर्राष्ट्रिय राजनीतिमा पनि शक्तिशाली बन्दै गएका छन्।

‘बेल्ट एण्ड रोड इनिसियटिभ’ र एसियन पूर्वाधार लगानी बैंक सी जिनपिङका रणनीतिक अवधारणा मानिन्छन्, जसले सम्बन्धित देशहरूलाई समेत लाभ हुने गरी एसिया र विश्व राजनीतिमा चीनको प्रभाव विस्तार गर्ने ठानिएको छ।

चीनको वाह्य प्रभाव विस्तारसँगै आन्तरिक रुपमा भ्रष्टाचार नियन्त्रण र सुशासनका कारण सी निकै शक्तिशाली बन्दै गएका छन्। अक्टोबरमा भएको पार्टीको १९ औं महाधिवशेनले सी विचारधार पारित गरी सीलाई चीनमा माओ र देङपछिको शक्तिशाली नेताका रुपमा उभ्याएको हो।

दुई कार्यकालको संवैधानिक प्रावधान हटाइएपछि सी तीन वा त्यो भन्दा बढी समय पार्टी प्रमुख र राष्ट्रपतिका रुपमा सत्तामा रहन सक्नेछन्।

नेपालखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार