फेसबुक बारे अनौठो खुलासा,पूर्व उपाध्यक्ष भन्छन् ‘फेसबुकमा काम गरेर ठुलो गल्ती गरे’

  केटिएम रिपोर्टस्  212 पटक हेरिएको

काठमाण्डौ ।
फेसबुकका पूर्व कार्यकारी चामठ पलिहापिटियाको यो भनाइले संसारका धेरै ठाउँमा हलचल मच्चाएको छ ।कम्पनीका पूर्व उपाध्यक्ष पलिहापिटियाले फेसबुक विस्तार गरेकामा पछुतो भएको बताएका छन्। ‘स्ट्यानफोर्ड ग्रयाजुएट स्कुल अफ बिजनेस’ का विद्यार्थीमाझ भएको एक कार्यक्रममा उनले भने, ‘मैले काम गर्दा फेसबुक यति भयानक हुन्छ भन्ने नै सोचिनँ। मलाई जीवनकै ठूलो गल्ती गरेझैं लागेको छ । म पछुताइरहेको छु।’यो एक महिनाअघिको घटना भए पनि भिडियो सार्वजनिक भएपछि सन्सनी फैलिएको हो। पलिहापिटियाले सन् २००७ देखि २०११ सम्म कम्पनीमा काम गरेका थिए र उपाध्यक्ष पदसम्म पुगेर बाहिरिएका थिए।

‘फेसबुक यस्तरी फैलिएला भन्ने मलाई कहिल्यै भानसम्म भएन। धेरैभन्दा धेरै मान्छेमा पुर्याउने प्रयास गरियो,’ भिडियोमा उनले भनेका छन्, ‘हाम्रो यही कदमले मान्छेको आपसी व्यवहार बदलियो, अर्कै स्तरमा पुर्यायो। यो स्तर समाजका निम्ति खतरा हो।’

उनका अनुसार फेसबुक यो किसिमले विस्तार गर्ने भनिएको थिएन। ‘हामीलाई फेसबुकको यस्तो नीतिबारे केही थाहा थिएन,’ उनले भने, ‘अहिले सम्झँदा लाग्छ, गलत बाटो हिँडिरहेका थियौं।’

फेसबुकले चर्चा र सम्पत्ति कमाएसँगै आफ्ना नीति बदलेको उनको आरोप छ। विश्वभर दुई अर्बभन्दा बढीले फेसबुक चलाउँछन्। यो संख्या दिनकै बढिरहेको छ।

फेसबुकमार्फत् सहजै मान्छेसँग जोडिने, जानकारी आदानप्रदान हुने र पोस्टहरूमा तत्कालै पाउने प्रतिक्रियाले नकारात्मक परिस्थिति र नतिजा ल्याएको पलिहापिटियाको भनाइ छ।

‘मैले आज आएर बल्ल बुझेँ,’ उनले भने, ‘प्राकृतिक रूपमा सञ्चालन भइरहेको समाजको संरचना र स्वरूप बिगार्न मैले धेरै कुरा बनाएँ। छोटो समयको आकर्षण हेरेर हामी लोभियौं। यसको दीर्घकालीन दृश्य हेरेनौं। समाज हामीले नै ध्वस्त पार्यौं।’

समाज सञ्चालनका मुख्य तत्व बिगार्नमा आफ्नै हात रहेको भन्दै उनले फेसबुकका कारण मान्छे–मान्छेबीच सहकार्य हराउँदै गएको बताए। गलत सूचना आदानप्रदान बढेको पनि उनको भनाइ छ।

‘फेसबुकका कारण समाजमा देखिएका समस्या अमेरिकाको मात्र होइन,’ उनले भने, ‘न त रुसको मात्र हो। यो त विश्वव्यापी समस्या हो।’

उच्च पदमा रहेर कम्पनीको नीति निर्माणमा संलग्न पूर्व कर्मचारीको यो भनाइमा फेसबुकले प्रतिक्रिया पनि दिएको छ। ‘पलिहापिटिया ६ वर्ष हामीसँगै थिए। त्योबेला कम्पनी बेग्लै थियो,’ फेसबुकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

स्ट्यान्फोर्ड कलेजमा पलिहापिटियालाई विद्यार्थीले फेसबुकको विगत र वर्तमानबारे जिज्ञासा राखेका थिए। उनीहरूको प्रश्नको जवाफ दिँदै उनले आफूसँग त्यो गल्ती स्थायी रूपमा सुधार्ने कुनै उपाय नभएको बताए। ‘यसको उपाय मसँग छैन,’ उनले भने, ‘सुझाव भने छ। यसबाट ब्रेक लिनुहोस् र टाढै बस्नुहोस्।’

उनले आफैं यसबाट पन्छिने प्रयास गरिरहेको पनि बताए। चार–पाँच वर्ष अवधिमा आफूले एकदमै थोरै मात्र पोस्ट गरेको जानकारी दिँदै आफ्ना छोरीछोरालाई पनि नचलाउने आदेश दिएका छन्। उनले यसोभन्दा सामाजिक सञ्जाललाई ‘शिट’ (दिसा अर्थ दिने गाली शब्द) भनेर सम्बोधन गरेका छन्।

‘हरेक मान्छेले आफूले जीवनमा गर्ने व्यवहार आत्मामा खोज्छ,’ उनले भने, ‘तपाईंका त्यस्तै व्यवहार थाहै नपाई कम्प्युटरको कुनै प्रोग्राम बनिरहेको हुन्छ। हामीले त्यही गर्यौं।

यो जानाजान गरेका भने थिएनौं। अब यसबारे बुझ्नुपर्ने हुन्छ र कति हदसम्म आफ्ना व्यवहार फुकाउने भन्ने सोच्नुपर्छ। के कुरा त्याग्न सक्छौं र आफ्नो बौद्धिक स्वतन्त्रता कतिसम्म हुनुपर्छ भन्ने निर्णय गर्नुपर्छ।’

यो समस्या फेसबुकको मात्रै नभएको पनि उनको भनाइ छ। उनका अनुसार इन्स्टाग्राम, ट्विटर, स्न्यापच्याट लगायत अन्य सामाजिक सञ्जालको पनि यस्तै समस्या छ। यी कुरा प्रस्ट्याउन उनले भारतमा ह्वाट्सएपका कारण फैलिएको झुटो खबरको उदाहरण दिए।

केही मान्छेले बालबालिका बेचबिखन गरिरहेकोबारे ह्वाट्सएपमा झुटो खबर फैलिएको थियो। उनका अनुसार ती मान्छे दोषी नहुन पनि सक्छन्।

‘सामाजिक सञ्जालमार्फत् एकै जना खराब मान्छेले हाम्रो ठूलो समुदायमा गलत कुरा फैलाउन सक्छ,’ उनले भने, ‘कसैले नकारात्मक कुरा पोस्ट गर्छन्। त्यहाँ तत्कालै इमोजी, लाइक र कमेन्ट आउन थाल्छन्।

खबर झुटै भए पनि छोटो समयमा आउने प्रतिक्रियाले हाम्रो मानसिकतामा यी सही हुन् भन्ने संकेत दिन्छ। के सही, के गलत भन्ने छुट्टयाउन कठिन भइदिन्छ। पोस्ट प्रचारकै आधारमा हामी यसको निष्कर्ष निकाल्न थाल्छौं। संसारका दुई अर्ब जनसंख्या अहिले यही बाटोमा छन्।’

पलिहापिटियाले फेसबुक छाडेको करिब ६ वर्ष भइसक्यो। उनी फेसबुकको चरम वृद्धि बेला त्यहाँ काम गर्थे। उनले यी सब कुरा आफ्ना अनुभवका आधारमा भनेको बताएका छन्।

उनी फेसबुकबाट निस्केपछि ‘सोसल क्यापिटल’ नामक संस्था सञ्चालन गरिरहेका छन्। यो संस्थाले शिक्षा र स्वास्थ्यमा लगानी गर्छ। यी दुवै क्षेत्र सिलिकन भ्यालीले बेवास्ता गर्दै आएको छ।

पलिहापिटियाले आफ्नो पश्चाताप फेसबुकका केही काम देखेर शान्त गरेको पनि बताएका छन्। कम्पनीले स्वास्थ्य, शिक्षा र जलवायु परिवर्तन अध्ययनमा लगानी गर्छ भन्ने कुराले मनमा शान्ति दिने उनको भनाइ छ।

फेसबुकमै संलग्न कुनै व्यक्तिले कम्पनीको आलोचना गरेको पहिलोपटक भने होइन। यसअघि गत नोभेम्बरमा लगानीकर्ता सन पार्करले पनि फेसबुकको विरोध गरेका थिए। फेसबुकले मानव मनोविज्ञान ध्वस्त पारेको आरोप उनले लगाएका थिए।

फेसबुकका पूर्व ‘प्रोडक्ट म्यानेजर’ एन्टोनियो गार्सिया–मार्टिनेजले पनि कम्पनीले उसको क्षमताबारे झुट बोलिरहेको बताएका थिए।

फेसबुकले प्रयोगकर्ताको व्यक्तिगत डाटा प्रभाव पार्न सक्ने र संकलन गर्ने खबर हावा भएको उनको भनाइ थियो। उनले कम्पनीमा काम गरेको अनुभव सँगालेर ‘केओस मंकिज’ नामक किताब पनि लेखेका छन्।

पलिहापिटियाका टिप्पणीमा कम्पनीले ‘आफू जोगिने’ तरिकाले जवाफ दिएको छ। ‘पलिहापिटिया कम्पनीमा हुँदा हामी सामाजिक सञ्जाल विस्तारमै थियौं र नयाँ अनुभव दिँदै विश्वव्यापी बनाउने प्रयासमा थियौं,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘अहिले हामी विकसित भइसकेका छौं र जिम्मेवारी पनि थपिएको महशुस गरेका छौं। हाम्रो भूमिका गम्भीरतापूर्वक लिँदै सुधार गर्न धेरै प्रयास गरिरहेका छौं।

हामीले धेरै अध्ययन, अनुसन्धान तथा काम गर्दैछौं भने विज्ञ र बौद्धिक व्यक्तिहरूसँग पनि छलफल गरिरहेका छौं। फेसबुक समाज सेवाको निम्ति होस् भन्ने हाम्रो उद्देश्य हो।’

केही दिनयता आलोचनाको घेरामा परेको फेसबुक पलिहापिटियाको भिडियोपछि झनै विवादित बनेको छ। गत डिसेम्बर ४ मा उसले ल्याएको नयाँ एप ‘म्यासेन्जर किड्स’ को सर्वत्र विरोध भइरहेको छ। यो एप ६ वर्षदेखि १२ वर्षसम्मका केटाकेटीका निम्ति ल्याइएको हो।

कम्पनीसँग सम्बन्धित व्यक्ति तथा संस्था र केही अभिभावकबाहेक अधिकांशले यो कदमको आलोचना र विरोध गरेका छन्। अभिभावकले आफ्ना स–साना नानीबाबुलाई आफूहरूजस्तै फेसबुक ‘कीरो’ बनाउन नचाहने बताएका छन्। बालबालिकासम्बन्धी काम गर्ने संस्था तथा मनोचिकित्सकहरूले यो एप केटाकेटीको निम्ति ‘खतरा’ भएको टिप्पणी गरेका छन्।

कम्पनीले यो एप केटाकेटीलाई फेसबुकको ‘वयस्क’ पाटोबाट जोगाउन र सामाजिक व्यवहार विकास गर्न ल्याएको बताएको छ। यो कुनै हालतमा जायज नभएको बेलायती स्वास्थ्यमन्त्री जेरेमी हन्टले भनेका छन्।

विभिन्न देशका साइबर विज्ञहरूले नानीबाबुहरूलाई सामाजिक सञ्जालको छायाबाटै पर राख्नुपर्ने बेला झन् तानिरहेकोमा फेसबुक ‘व्यवसायमुखी’ मात्र भएको बताउँदै आएका छन्।

यो एप अमेरिकामा मात्र उपलब्ध छ र विस्तारै अन्य देशमा फैलाउने कम्पनीको योजना छ। सन् २०१६ को अमेरिकी चुनावमा रुसले फेसबकमार्फत् ‘भाँजो’ हालेको विषयमा पनि कम्पनी विवादित छ। -सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार