कवि दिवसको ‘सम्झिराख’नेपथ्यको भिडियोमा

काठमाडौं । चिरपरिचित कवि तुलसी ‘दिवस’ले धेरै वर्षअघि लेखेको कविताका लाइनहरु नेपथ्यको दशाैं अल्बममा गीतका रुपमा समेटिइसकेको छ ।

‘मेरै जस्तो तिम्रो हृदयको गमलामा पनि
सम्झनाको फूल फुलेकै होला
सम्झिराख
सम्झिराख, लामो सफरमा
आँसु र हाँसो बाँड्नुपर्छ
सम्झिराख’
अब भने श्रोतालाई नेपथ्यको रजत वर्षमा घोषित उपहार शृंखला अन्तर्गत यो गीत म्यूजिक भिडियोका रुपमा तयार भएको छ ।
‘मैले यो कविता वाल्यकालमै रचेको थिएँ,’ कवि दिवस भन्छन्,’पछि कविता संग्रह निकाल्ने बेलामा यसका शब्दहरुको मर्मले छोएपछि प्रकाशित हुनपुगेको थियो ।’

सम्झिराख शीर्षकको यस कविताले अगाडि भन्छ-
‘किनकि सृष्टि नासिन सक्छ
संसार रहस्यमय बिलाउन सक्छ
जीवनलाई मृत्युले चपाउन सक्छ
तर सम्झना सधैं हाँसिरहन्छ
कविता बनी त्यो बाँचिरहन्छ
सम्झिराख ’

वाल्यकालमा लेखेको र युवावस्थामा प्रकाशित भएको यो कवितालाई आफू प्रौढ अवस्थामा पुग्दा नेपथ्यले यसरी गीतका रुपमा अघिबढाउँदै गरेकोमा आफूलाई खुशी लागेको कवि दिवस सुनाउँछन् ।

यसरी एउटा कविको भावनालाई संगीतवद्ध हुँदै अब हेर्ने माध्यमका रुपमा समेत परिणत गर्दा म्यूजिक भिडियोले भने ललितपुरका पुरानागल्ली, दरवार र ढुँगेधाराहरुको चयन गरेको छ । भिडियोमा ब्याण्डका सदस्यहरु रातको एकान्तमा पुरानो सहरको यात्रा गर्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार