पुस्तक अंशः अनि उनले कुरा मोडिन् !

भनिन्छ, शिवरात्रिपश्चात् काठमाडौंमा जाडो कम हुन्छ र गर्मी बढ्न थाल्छ । कठ्याङ्गि्रएको शरीरमा अब केही समय सायद आराम महशुस हुन्छ, न्यानोपन ! शरीरलाई त आराम मिल्ला तर कामज्वरो छुटेझैं कम्पित मनलाई कसरी आराम होला र खै !

अफिस छुट्टी भए पनि बाँकी सारा कुरा यथावतै छन् । उकुसमुकुस, छट्पटी, बेचैनी उफ् ! घरमा बसिरहँदा झन् उद्वेलित हुन्छ मन । समुद्रमा सुनामी आएझैं गरी व्यग्रताका लहरहरु उठ्न थाल्छन् । बरु अफिस जाँदा मनका कुण्ठित, ब्याकुल तरङ्गहरु केही मात्रामै भए पनि भुलिन्छन् । त्यसैले मलाई छुट्टी पटक्कै मन पर्न छाडेको छ ।

छुट्टीको मामिलामा त्यसै पनि उदार छ हाम्रो देश । हरेक सानातिना चाडबाड, दिवस तथा समारोहहरुमा समेत सार्वजनिक बिदा दिइन्छ । साताको एकपटक शनिबारको वाषिर्क ५२ दिन, घर र बिरामी बिदा गरेर ४५ दिन अनि पर्व बिदा झन्डै ४० दिन । ३६५ दिनमा करिब १३० दिन बिदा ! मानौं अरु दिन कामको चापाचापले सास फेर्ने फुर्सद पाउँदैनन् नेपालीले !

यसो भनिरहँदा भारतको राजधानी नयाँदिल्लीमा भएको एउटा विवाद सम्झन्छु । केही वर्षअघि म नेपालको असन, इन्द्रचोक, महाबौद्ध भनेझैं दिल्लीको पुरानो होलसेल बजार सदरबजारमा थिएँ । उस्तैखालका घर, उस्तै प्रकृतिको व्यवसाय र उत्ति नै व्यस्त व्यापारी । ग्राहकको उस्तै ठेलमठेल । म कुनै व्यावसायिक कामको सिलसिलामा गएको थिएँ । नेपालमा केही समयअघि मात्रै राजा वीरेन्द्रको वंशनाश भएको थियो । राजपरिवारको हत्याकाण्डकै विषयमा चर्चा चलिरहँदा एउटा व्यापारीले भन्यो, ‘तिमीहरु त सधैं मोजमस्ती र रसरमाइलो मात्रै गर्छौ । कामै गर्न खोज्दैनौ । त्यसैले त ‘सूर्य अस्त नेपाल मस्त’ भनेझैं त्यत्रो काण्डलाई समेत बिर्सिन थालिसकेका छौं ।’

मैले कडा रुपमा त्यसको प्रतिवाद गरेपछि विवाद खुबै बढेको थियो । तर मेरठका एक जना मित्रले हस्तक्षेप गरेर विवाद शान्त बनाए ।

छुट्टी भए पनि आफ्ना केही काम गर्न समय निस्किरहेको छैन । ओहो, मैले त झन्डै भुलेको, हिजो नै डाक्टरकोमा पुग्नुपर्ने थियो स्वास्थ्य जाँचको रिपोर्ट लिन । बिहान के-के सोच्दासोच्दै झल्याँस्स भएँ । अन्य क्षेत्रमा बिदा भए पनि क्लिनिक त खुलिहाल्थ्यो । नुहाइधुवाइ सकी हल्का नास्ता लिएर करिब १० बजेतिर डिल्लीबजारस्थित क्लिनिक पुगें ।

म एकदमै स्वस्थ भएको महशुस गर्छु । साथीहरु पनि पूर्ण फुर्तियुक्त र हट्टाकट्टा छस् भन्छन् । कुनै बिरामी परेर डाक्टरकोमा धाएको पनि होइन न त नियमित जाँच नै हो । आमनेपालीलाई जस्तो ग्यास्टि्रकको समस्याले पनि अहिलेसम्म सताएको छैन । बाध्यकारी रुपमा कुनै कम्पनीमा आफ्नो स्वास्थ्य परीक्षण प्रतिवेदन पेस गर्नुपर्ने भएकाले मात्रै म जँचाउन गएको थिएँ । त्यसैले कस्तो रिपोर्ट आउला भन्ने कुनै चिन्ता छैन, ढुक्क छु ।

गाडी पार्किङमा राखेर रिपोर्ट लिन पहिलो तलाको काउन्टरमा पुगें । केही व्यक्ति काउन्टरअगाडि लाम लागेका थिए । बाहिरै एउटी युवती उभिइरहेकी थिइन् । क्लिनिककै कर्मचारी होला भन्ने लाग्यो । म पनि तिनैको पछाडि उभिएर पालो कुर्न थालें । धेरै बेर उभिएपछि कस्तो-कस्तो लाग्यो । अघि बढ्ने विचारले उनलाई सोधें, ‘तपाईं पनि क्युमा हो ?’

‘हो, तर जानुस् न !’ सहजै ठाउँ छोडिदिँदै उनी पछाडि सरिन् ।

नीलो रङको ठिक्कको स्कर्ट र खैरो रङको खुला टिसर्टमाथि मुजैमुजा परेको रातो ज्याकेट लगाएकी, ठिक्कैको छोटो सुनजस्तै भुक्क फुकेको कपाल, पोटिला गाला, टम्म मिलेको कसिलो जिउ- विदेशीजस्ती देखिने । फक्रँदो वैंशमा रहेकी, गोरो उज्यालो मुहारकी ती युवती असाध्यै सुन्दर थिइन् ।

उनले मपट्टी फर्केर जवाफ दिँदा एकछिन हेरेको हेर्‍यै भएँ, बोल्नै सकिनँ । केहीबेरमा मात्र वाक्य फुट्यो, ‘थ्याङ्क यु !’ तर मैले ‘थ्याङ्क यु’ भन्दासम्म उनी अर्को कुनामा पुगिसकेकी थिइन् ।

उनीबाट आँखा हट्न मानेको छैन तर पनि खास कामले आएको मान्छे, त्यसैमा ध्यान दिनैपर्ने बाध्यताले कामतिरै लागें । अघि सरेर आफ्नो रिपोर्ट लिएँ । आवश्यक जाँच र स्वास्थ्य परीक्षण प्रतिवेदनका लागि अर्को कुनामा रहेका डाक्टरकोमा नाम लेखाएँ । आफ्ना रिपोर्ट डाक्टरका सहयोगीलाई बुझाएँ । त्यहाँ बिरामीको लामो लाम थियो । भीडभाड उस्तै । त्यहाँ बसिरहन अप्ठयारो लाग्यो अनि चिया र चुरोट पिउन तल झर्ने विचारले अघि बढें ।

किन हो कुन्नि, क्लिनिक होस् वा अस्पताल, प्रहरी कार्यालय होस् वा अदालत वा अन्य कुनै पनि सरकारी कार्यालयमा म लामो समय बसिरहनै सक्दिनँ । सायद सबैलाई यस्तै हुँदो हो । त्यस्ता ठाउँमा पीडा, वेदना र गुनासा मात्रै सुनिन्छ सेवाग्राहीको । तर तिनको समस्या समाधान गरिदिने कोही हुँदैनन् ।

तल झर्दै थिएँ । भर्‍याङमा तिनै युवतीलाई भेटें । उनी एउटा खुट्टा सिँढीको माथिल्लो खुड्किलोमा र अर्को तल्लो खुड्किलोमा राखी भित्तामा अडेस लागेर केही पढिरहेकी थिइन् । सायद क्लिनिककै रिपोर्ट हुनुपर्छ ।

अनुहारमा अलिक नैराश्य झल्कन्थ्यो । अब मलाई बुझ्न गाह्रो भएन, उनी जँचाउनकै लागि आएकी रहिछन् र पक्कै पनि रिपोर्ट उनले सोचेजस्तो आएनछ ।

मलाई के भयो के, अघिदेखि उनीबाट नजर हट्न मानिरहेको थिएन । उनीसँग बोल्न र उनको समस्याबारे जान्न मन लाग्यो । बडो हिम्मत जुटाई उनले टेकिरहेको भन्दा तल्लो खुड्किलामा उभिएर सोधें, ‘तपाईंको काम भयो ?’

अघि काउन्टरमा देखेदेखि नै उनलाई फेरि भेटुँ, बोलुँ भन्ने चाहिरहेको मन प्रफुल्लित भयो । उनलाई आफ्नै अघिल्तीतर देखेपछि मलाई स्कुले जीवनको याद आयो ।

स्कुल पढ्दा मेरै कक्षामा पढ्ने एकजना उनीजस्तै साथी थिइन्, छोटो कपाल भएकी लामा थरकी । गोह्रो र उज्यालो मुहार खाइलाग्दो शरीर ! तिनको पुक्कपुक्क परेका गालामा हाँस्दा सुन्दर खोपिल्टा पर्थे । औधी हँसिली । मलाई उनीसँग खुबै बोल्न मन लाग्थ्यो र नजिक हुन चाहन्थें । सायद बालसुलभ वा भर्खरै यौवन सुरु हुन लाग्दाको समयको आकर्षण थियो त्यो ।

ठूला-साना सबै विद्यार्थीको नजर उनकै अघि-पछि दौडिरहेको हुन्थ्यो तर मैले कहिल्यै उनको चियोचर्चो गरिनँ । म त मात्रै उनीसँग नजिक हुन चाहन्थें, बोल्न चाहन्थें तर सम्पन्न परिवारकी छोरी उनी कहिल्यै मेरो नजिक नै परिनन् ।

म त्यो बेला आफ्नो मनको कुरा व्यक्त गर्न पनि कहाँ सक्थें र ! निकै लाज लाग्थ्यो केटीहरुसँग बोल्न । मेरो मनको कुरा सधैं मनमै रहिरहृयो । उनीसँग सामिप्य त के, दोहोरो कुराकानीसम्म पनि हुन पाएन । उनी बीचैमा स्कुल छोडेर हिँडिन्, सायद उनको परिवारै अन्यत्र बसाइँ सर्‍यो वा उनी मात्रै कतै लागिन् ।

स्कुले जीवन सकिएको निकै समयपछि एकदिन आकस्मिक रुपमा भेट भएको थियो उनीसँग । उनी काठमाडौंबाट पूर्व आउने क्रममा रहिछन्, म भने काम विशेषले काठमाडौंतर्फ लाग्दै थिएँ । संयोगले हामी दुवै जना चढेको बस एकैसाथ रोकिएको थियो चितवनको रामनगरमा, खाना खान । हामी हेरेको हेर्‍यै भएका थियौं । दुवैलाई आफूले देखेको मान्छे सहपाठी, बालसखा नै हो कि होइन भन्ने ठम्याउनै मुस्किल परेको थियो ।

छक्क पर्दै, खुसी हुँदै एक-अर्काको हालखबर सोध्न नभ्याउँदै बस छुट्ने समय आयो । हामी मन नलागी-नलागी छुट्टनि बाध्य भयौं । त्यसपछि अहिलेसम्म उनीसँग फेरि भेट भएको छैन ।

अहिलेको जस्तो भएको भए मोबाइल र विभिन्न सामाजिक सन्जालमार्फत सम्पर्कमा रहिरहन सकिन्थ्यो होला तर त्यसबेला यस्तो कुनै सुविधा थिएन ।

अहिले क्लिनिकमा भेटिएकी युवती किन-किन उनीजस्तै लाग्यो, आत्मीय अनि पि्रय । मलाई असाध्यै मन पर्ने र साह्रै राम्रा गायक हरिप्रसाद रिमालको लोकपि्रय गीत सम्झिएँ,

फगत एक नजरमा कसैले लियो मन
जति बिर्सूं भन्छु उति सम्झिने झन्…

मेरो अघिको प्रश्नमा उनले अलि चिन्तित भावमा आधा मात्र जवाफ फर्काइन्, ‘हुन त भयो !’

पहिलोपटक बोल्दै थियौं हामी, अन्जान थियौं । नचिनेको व्यक्तिसँग अप्रासङ्गिक रुपमा बोल्नुपरेकाले पनि होला, उनी त्यति खुल्न चाहिनन् ।

मैले आफूलाई सम्हालेरै फेरि सोधें, ‘के भयो र !’

उनले अघिदेखि हेर्दै गरेको रिपोर्ट बटार्दै अलि सतर्क भएजस्तो गरी दुवै खुट्टा एउटै खुड्किलामा राखेर भनिन्, ‘होइन, ठीकै छ !’

उनले कुरा मोड्न खोजिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार